काठमाडौं / जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२६) आजदेखि शुरु भएको छ । सम्मेलन आगामी नोभेम्बर १२ सम्म चल्नेछ ।
सम्मेलनमा विश्वका राष्ट्रप्रमुख, सरकार प्रमुख, सरकारी प्रतिनिधिहरू र नागरिक समाज, व्यावसायिक क्षेत्र र सञ्चारमाध्यमका प्रतिनिधिहरूसहित हजारौँ भेला हुँदैछन् । विश्व नेताहरूको शीर्ष सम्मेलन भोलि र पर्सि हुनेछ ।
सम्मेलनमा जलवायुसम्बन्धी विभिन्न विषयमा छलफल हुनेछ । विश्वका नेताहरूले पृथ्वीलाई भविष्यमा पनि जीवनयोग्य बनाउन के कस्ता कदमहरू उठाउने छन् भन्ने आम चासोको विषय बनेको छ ।
कोपका लक्ष्यहरू सफलतापूर्व प्राप्त गर्न र जलवायु परिवर्तनसँग जुध्न शीर्ष नेताहरूले ठोस योजना र विश्वसनीय योजनाहरू बनाउने अपेक्षा गरिएको छ । कोपमा झण्डै २ सय राष्ट्रहरू छन् ।
सम्मेलनमा नेपालका तर्फबाट प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी हुनेछन् ।