सिन्धुलीमाढी / सिन्धुलीको सबै स्थानीय तहमा नेकपा (एमाले) को सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सम्पन्न भएको छ ।
जिल्लाको हरिहरपुरगढी गाउँपालिकामा शनिबार बेलुका सर्वसम्मत नेतृत्व चयन गर्दै अधिवेशन सकिएपछि नौ वटै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको एमाले सिन्धुलीले जनाएको छ ।
पार्टीकाअनुसार अधिवेशनले हरिहरपुरगढी गाउँपालिकामा मानबहादुर वाइवाईको अध्यक्षतामा ७५ सदस्यीय गाउँपालिका कमिटी गठन गरेको छ ।
त्यस्तै स्थानीय तह अधिवेशनले कमलामाई नगरपालिकाको अध्यक्षमा महेन्द्रदेव श्रेष्ठ, दुधौली नगरपालिकामा लक्ष्मण कार्की, तीनपाटन गाउँपालिकामा छत्र दाहाल, फिक्कल गाउँपालिकामा रामप्रसाद भण्डारी, गोलन्जोर गाउँपालिकामा रेगनराज थापा, सुनकोसी गाउँपालिकामा रोमराज गिरि, घ्याङलेख गाउँपालिकामा चतुरमान लो र मरिण गाउँपालिकामा श्रीलाल माझीको अध्यक्षतामा स्थानीय तहको कमिटी चयन गरेको छ ।
पार्टीका जिल्ला उपसचिव तथा कमलामाई नगरपालिकाका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले अधिवेशनले सबै स्थानीय तहमा अध्यक्ष, उपाध्यक्ष, सचिव र दुई उपसचिवसहित पाँच जना पदाधिकारी रहेको ७५ सदस्यीय स्थानीय कमिटी गठन गरेको जानकारी दिए ।
सो कमिटीमा ३३ प्रतिशत महिला अनिवार्य गरी कम्तीमा पनि २५ जनाको सहभागिता रहेको र २५ जनाको सचिवालय गठन गरेको उनले बताए ।
उक्त पार्टीकाअनुसार कात्तिक ९ गते सुरु भएको स्थानीय तह अधिवेशन पहिलो दिनमा नै छ वटा पालिकामा सम्पन्न भएको थियो ।
बाँकी कमलामाई नगरपालिका, हरिहरपुरगढी गाउँपालिका र दुधौली नगरपालिकामा सर्वसम्मत नेतृत्व चयन गर्ने प्रयास गर्दा अधिवेशन लम्बिएको थियो ।