काठमाडौं / बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ ।
वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ (सोमबार) फैसला सुनाउन आदेश दिएको थियो ।
तर, न्यायाधीश सुवेदी आज अदालतमा अनुपस्थिति भएका कारण आजको लागि पेशी तोक्न नसकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।
२०७६ माघ २९ गते वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र भट्टराईविरुद्ध मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।
बालुवाटारको सरकारी जग्गा व्यक्तिको नाममा गरेको प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री विजयकुमार गच्छदारसहित १७५ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।
मन्त्रिपरिषद्को निर्णयबाट जग्गा व्यक्तिको नाममा लगिएको भन्दै वरिष्ठ अधिवक्ता न्यौपानेले मन्त्रिपरिषद्को निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने जिकिर गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए ।