ताप्लेजुङ / बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा ताप्लेजुङमा दश जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । 

जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङका अनुसार उनीहरूको विरुद्धमा  उम्मेदवारी नै दर्ता नभएको तथा केही पदमा दर्ता भएका उम्मेदवारी समेत फिर्ता लिएपछि निर्विरोध निर्वाचित भएका हुन् । 

फक्ताङलुङ गाउँपालिका –७ ओलाङचुङगोलाका वडाध्यक्षसहित पाँच जना निर्विरोध निर्वाचित भएका छन् । 

त्यस्तै फुङ्लिङ नगरपालिका –५ मा एमालेबाट उम्मेदवारी दिएकी महिला सदस्य गङ्गा दर्नाल पनि निर्विरोध भएकी छिन् । 

त्यसैगरी कांग्रेसबाट सिरिजङ्गा गाउँपालिका –८ याम्फुदिनमा दलित महिला सदस्यमा उम्मेद्वारी दिएकी सीतादेवी सार्की र मिक्वाखोला गाउँपालिका –३ लिवाङकी दलित महिला सदस्यमा उम्मेदवार लक्ष्मीमाया बिक निर्विरोध भएका छन् । 

फताङ्लुङ गाउँपालिका –६ लेलेपमा कांग्रेसबाट उम्मेदवारी दिएकी मञ्जु कामी, मिक्वाखोला –५ पापुङमा  माओवादीबाट उम्मेदवारी दिएकी सरिता गहते दलित महिला सदस्यमा निर्विरोध भएकी जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी विपिन दुलालले जानकारी दिए ।