• रेवतीराज घिमिरे

भद्रपुर / आसन्न स्थानीय तह निर्वाचनमा भद्रपुर नगरपालिकाबाट नगर प्रमुखमा उम्मेदवारी दिएका मेयर पदका ७ जना उम्मेदवारहरूले नगरको शिक्षा, स्वास्थ्य, कृषि लगायतका भौतिक पूर्वाधार विकास निर्माण गर्न आफूहरूले उम्मेदवारी दिएको बताएका छन् ।

भद्रपुर जेसिजद्वारा शनिवार चन्द्रगढीमा आयोजित नगरप्रमुखका उम्मेदवारहरू मेरो उम्मेदवारी किन भन्ने सन्दर्भमा सञ्चालित कार्यक्रममा उनीहरूले यस्तो बताएका हुन ।

कार्यक्रममा बोल्दै गठबन्धनको तर्फबाट उम्मेदवारी दिएका नेपाली कांग्रेसका उम्मेदवार गणेश पोखरेलले वर्तमान स्थानीय सरकारले विकाश निर्माणमा कुनै ठोस कार्य नगरेको बताउँदै आफू निर्वाचित भएमा मेची अञ्चल अस्पतालको उल्लेखनीय सुधार सहित पर्यटन पूर्वाधारको विकास संगै भ्रष्टाचार नियन्त्रण गर्ने र नगरको सुशासन कायम गर्न आफूले उम्मेदवारी दिएको बताएका छन् । 

पोखरेलले आफू निर्वाचित भए मेची अञ्चल अस्पताल भद्रपुरलाई मेडिकल कलेजको रुपमा रूपान्तरण गर्ने बताए । 

उता नेकपा एमालेका मेयर पदका उम्मेदवार अन्सारु राजवंशीले व्यापारिक शहरको रुपमा भद्रपुरलाई चिनाउँदै शिक्षा स्वास्थ्यमा सुधार लगायतका क्षेत्रमा काम गर्ने बताए छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार नवराज पनेरुले निःशुल्क शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा काम गर्दै नगरपालिकालाई सुशासन युक्त नगर बनाउने प्रतिवद्धता गरेका छन् । 

त्यस्तै कार्यक्रममा बोल्दै मौलिक जरोकिलो पार्टीबाट मेयर पदमा उम्मेदवारी दिएका चुडामणि अधिकारीले हाम्रा धर्म संस्कृतिको जगेर्ना गर्दै भद्रपुर नगरपालिकालाई हरित शहरको रुपमा आफूले विकास गर्ने बताएका छन् । 

जनता समाजवादीका उम्मेदवार समर कुमार राई ,मंगोल अर्गनाइजेशनका उम्मेदवार इन्द्रकुमार सुहाङ्ग, राष्ट्रिय जनमुक्ति पार्टीका याम बहादुर लिम्बू लगायतले भद्रपुरलाई सुशासन सहित भ्रष्टाचार मुक्त शहर बनाउन आफनो उम्मेदवारी रहेको जनाएका छन् ।