काठमाडौँ / सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा प्रस्तुत गर्ने भएको छ।
सरकारको आर्थिक वर्ष २०७९ ८० को नीति तथा कार्यक्रम जेठ ७ गते संसद्मा सार्वजनिक गर्ने कार्ययोजना बनेको संघीय संसद् सचिवालयका प्रवक्ता डा. रोजनाथ पाण्डेले जानकारी दिए ।
संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते बजेट ल्याउनुपर्ने भएकाले राष्ट्रपति विद्यादेवी भण्डारीले संसद् अधिवेशन जेठ ३ गतेलाई आह्वान गरेकी थिइन्।
सरकारको नीति तथा कार्यक्रमको संशोधन र छलफल ८ देखि ११ गतेसम्म हुने पाण्डेले बताए।
प्रवक्ता पाण्डेका अनुसार जेठ ३ गते पहिलो प्रतिनिधि सभाको बैठकमा अर्थमन्त्री जनार्दन शर्माले बजेट सिद्धान्त र प्राथमिकता सम्बन्धी प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ ।
त्यस्तै जेठ ४ र ५ गते संसद्मा प्रि–बजेटमा छलफल हुने, जेठ १२ वा १३ गते संसद्मा आर्थिक सर्वेक्षण सम्बन्धी प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने र संवैधानिक प्रावधान अनुसार जेठ १५ गते बजेट भाषण गर्ने तयारी रहेको प्रवक्ता पाण्डेले बताए।
प्रवक्ता पाण्डेले जेठ १५ गतेपछि जेठ महिनाभर आर्थिक विधेयक तथा अन्य कार्यक्रमहरू निरन्तर रुपमा चल्ने बताए।
बजेट अधिवेशनको लागि संसद् सचिवालयले सुरक्षा, स्वास्थ्य मापदण्ड लगायतका भौतिक तयारी पूरा गरेको बताइएको छ ।






































