काठमाडौं / काठमाडौंको कालिकास्थान स्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्ड माथि खुकुरी प्रहार गरेको आरोपमा ४ विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलेजको मानविकी सङ्कायमा कक्षा ११ मा अध्ययनरत म्याग्दीको बेनी नगरपालिका घर भई हाल काठमाडौंको बानियाँटार बस्ने राजेन्द्र बानियाँका छोरा जोसेन बानियाँ, रामेछापको मन्थली घर भई हाल काठमाडौंको डिल्लीबजार बस्ने पदम बहादुर खत्रीको छोरा विपिन खत्री, ओखलढुङ्गाको मानेभञ्ज्याङ- ६ घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने गौरी खतिवडाका छोरा प्रतीक खतिवडा र काठमाडौं टोखा- ६ घर भएका तप्त बहादुर भण्डारीका छोरा सञ्जीव भण्डारी ( अनमोल ) रहेका छन् । 

मंगलबार दिउँसो साढे १ बजेतिर सुरक्षा गार्डलाई खुकुरी प्रहार गरी घाइते बनाएको भन्ने सूचना प्राप्त भएपछि प्रहरी वृत्त सिंहदरबारको टोली परिचालित भएको थियो । खुकुरी प्रहारबाट बायाँ कान मुनि चोट लागेका ती सुरक्षा गार्ड उपचारपछि डिस्चार्ज भएको र उनको अवस्था सुधारोन्मुख रहेको प्रहरीले जनाएको छ ।