काठमाडौं / उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र बडुले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि भएका कारण नेपालमा पनि वृद्धि गर्नुपरेको प्रस्ट पारेका छन् ।

राष्ट्रिय सभाको बुधबारको बैठकमा पेट्रोलियम पदार्थको मूल्य वृद्धिबारे सदनलाई जानकारी गराउँदै २०७१ सालदेखि नै अन्तर्राष्ट्रिय बजार अनुसार पेट्रोलियम पदार्थको मूल्य बढेर प्राप्त हुँदा नेपालमा पनि बढाउने र घट्दा घटाउने प्रक्रिया सुरु भएको बताएका हुन् । 

उनले भने, “पछिल्लो समय रुस–युक्रेन युद्धका कारण सिर्जना भएको  ऊर्जा सङ्कटका कारण निगमले प्राप्त गर्ने पेट्रोलियम पदार्थको मूल्य लगभग सबैजसो समय बढेर नै आइरहेको छ, नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारबाट कच्चा तेल खरिद नगरी प्रशोधित पेट्रोलियम पदार्थ खरिद गर्दै आएको छ ।”

मन्त्री बडुले प्रशोधित पेट्रोलियम पदार्थको मूल्य अन्तर्राष्ट्रिय बजारमा बढिरहेको अवस्थामा निगमले हाल आफू घाटामा रही कारोबार गरिरहेको बाध्यात्मक अवस्थाबारे पनि सदनलाई जानकारी गराए ।