काठमाडौँ /  छिमेकी मुलुक चीनका राष्ट्रिय जनकंग्रेसका अध्यक्ष नेपाल भ्रमणमा आउने भएका छन् । 

नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको चहलपहल भइरहेको बेलामा चिनियाँ जनकंग्रेसका अध्यक्ष ली चान्सु नेपाल भ्रमणमा आउने भएका हुुन्

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार लु चान्सुले भदौ २७ देखि २९ सम्म तीन दिनसम्म नेपालको भ्रमण गर्न लागेका हुन् ।
उनी प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाको निमन्त्रणामा नेपाल आउन लागेका हुन् ।

सापकोटाले गत चैत २५ मा भएको भिडियो संवादका दौरान लीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका थिए । भ्रमणका क्रममा चान्सुले सभामुख सापकोटा, राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित राजनीतिक दलका शीर्ष नेताहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको बताइएको छ । 

ली चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का वरिष्ठ नेतामा पर्छन् । चीनको संविधान अनुसार चिनियाँ राष्ट्रपति सी चिनफिङपछि ली दोस्रो वरियताका नेता हुन् । तर सीपीसी पार्टीको विधान अनुसार राष्ट्रपति सी, त्यसपछि प्रधानमन्त्री ली खछ्याङ र त्यसपछि तेस्रो वरियतामा ली पर्छन् ।

चिनियाँ राष्ट्रपति सीपछि नेपाल भ्रमण गर्ने ली अर्को उच्च तहका नेता हुन् । सीले २३ वर्षपछि नेपालमा २०७६ साल असोज २५ र २७ मा उच्च तहमा राजकीय भ्रमण गरेका थिए ।