लुम्बिनी । चिनियाँ कलाकारहरुले बुद्ध र लुम्बिनीसँग सम्बन्धित फिल्म निर्माण गर्ने विषयमा लुम्बिनी विकास कोषमा आज छलफल गरेका छन् । ‘म कहिल्यै नमरी जीउन चाहन्छु’ नामक फिल्मको एकतिहाई भाग बुद्धजन्मस्थल लुम्बिनीमा छायाङ्कन गर्ने योजना रहेको जनाउँदै निर्माता तथा कलाकारले आज यहाँ छलफल गरेका हुन् ।
उक्त अवसरमा लुम्बिनी विकास कोषका कोषाध्यक्ष ढुण्डिराज भट्टराईले बुद्ध र लुम्बिनीको सकारात्मक प्रचारप्रसार गर्ने गरी फिल्म निर्माण हुने कुराले लुम्बिनीको प्रवर्द्धन हुने विश्वास व्यक्त गरे । उनले फिल्मले चीनका नागरिकहरुमा बुद्ध र लुम्बिनीका बारेमा सकारात्मक प्रभाव पार्ने विश्वास व्यक्त गरे । फिल्म छायाङ्कनका लागि कानुनले दिएका बिषयमा सहजीकरण गर्ने प्रतिबद्धता जनाए ।
छलफलमा कोषका सूचना तथा जनसम्पर्क प्रमुख डा हरिध्वज राईले भगवान बुद्धले लुम्बिनी भ्रमण गर्दा जीवनमा भएका पापहरु क्षम्य हुने भनी बौद्धशास्त्रमा लेखेको उल्लेख गर्दै बुद्धको सन्देशलाई सही रुपमा फिल्मले उठान गर्न सुझाव दिए । लुम्बिनीमा शाक्यमुनी बुद्ध र कपिलवस्तुमा कक्रुछन्द र कनकमणि बुद्धको जन्म भएकाले ती क्षेत्र र बृहत्तर लुम्बिनीलाई समेटेर छायाङ्कन गर्दा अझ प्रभावकारी हुने उनको सुझाव थियो ।
फिल्मका निर्माता चाउ डिफिङले आफूहरु अहिले प्रारम्भिक जानकारी लिन मात्रै आएको बताउँदै चिनियाँ दूतावास हुँदै लुम्बिनीमा छायाङ्कनका लागि आउने जानकारी गराए । निर्माता चाउसँगै छायाङ्कार डेङ्ग छुङमिनसहितको टिम लुम्बिनी आएको थियो । उनीहरुले चीनबाट फिल्म छायाङ्कन गरी लुम्बिनीमा सकाउने योजना रहेको चिनियाँ कलाकारहरुको टोलीका सहजकर्ता डा सागर न्यौपानेले बताए ।






































