काठमाडौं — संघीयता, धर्मनिरपेक्षता र गणतन्त्र 'पूर्णरूपमा असफल' भएको दाबी गर्दै राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापनाको मागसहित राजावादीहरूले १५ जेठदेखि अनिश्चितकालीन जनआन्दोलन सुरु गर्ने धमाकेदार घोषणा गरेका छन्।
राजावादी आन्दोलन सुस्त बन्दै गएको चर्चा भइरहँदा, उनीहरूले फेरि चर्को शैलीमा आन्दोलन अघि बढाउने बताएका छन्। आन्दोलनको अगुवाइ गरिरहेको संयुक्त जनआन्दोलन परिचालन समितिका संयोजक नवराज सुवेदीले संविधानद्वारा प्राप्त अधिकार प्रयोग गर्दै शान्तिपूर्ण तर सशक्त सडक संघर्ष गर्ने चेतावनी दिएका छन्।
सुवेदीका अनुसार, "गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता जनताको चाहनाविपरीत जबर्जस्ती थोपिएको हो। अब व्यवस्था परिवर्तन अनिवार्य भइसकेको छ।"
आन्दोलनमा राप्रपा, शिवसेना नेपाल, नेपाली कांग्रेस बीपी, नेपाल प्रागिक मञ्च लगायतका राष्ट्रवादी शक्तिहरूको समर्थन रहेको छ। उनीहरूले यो आन्दोलन कुनै पार्टीको हैन, सिंगो देशको आन्दोलन भएको दाबी गरेका छन्।
पूर्वमन्त्री सुवेदी र राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले यो आन्दोलन तबसम्म नरोकिने स्पष्ट पारेका छन्, जबसम्म राजसंस्था र हिन्दू राष्ट्र पुनःस्थापित हुँदैन। लिङ्देनले गणतन्त्रवादीहरूलाई समेत आन्दोलनमा सामेल हुन खुला निम्ता दिएका छन्।
                    
                                        
                                                                                                
        








        




























