रसुवा । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवाको टिमुरे तथा मैलुङ क्षेत्रका जलविद्युत् गृहमा सम्पर्कविहीन भएका व्यक्तिहरूको खोज तथा उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले गोताखोरसहितको विशेष टोली परिचालन गरेको छ।
बाढी गएको चार दिनपछि खोज तथा उद्धार अभियानलाई थप तीव्र बनाउँदै सशस्त्र प्रहरीले विशेष तालिमप्राप्त जनशक्ति परिचालन गरेको हो। सशस्त्र प्रहरी निरीक्षक सोम गुरुङका अनुसार टिमुरे, मैलुङलगायतका क्षेत्रमा टोलीले सम्पर्कविहीन व्यक्तिहरूको विवरण सङ्कलन गर्दै सम्भावित स्थानमा खोजी गरिरहेको छ।
गोताखोरसहितको विशेष टोली परिचालन भएपछि भोटेकोशी नदी तथा आसपासका जोखिमपूर्ण क्षेत्रमा समेत खोजीलाई प्रभावकारी बनाउने प्रयास भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।सम्पर्कविहीन व्यक्तिको अवस्था पत्ता लगाउन सुरक्षा निकायले सम्भावित सबै क्षेत्रमा खोजी केन्द्रित गरेको छ






































