चितवन । आइतबार बिहान भोटेकोशी नदीमा बाढीको बहाव बढेको सूचना आएपछि केहीबेर रोकिएको काठमाडौँ–मुग्लिन–नारायणगढ सडकखण्ड पुनः पूर्ण रूपमा सञ्चालनमा आएको छ।

भोटेकोशीमा बाढीको जोखिम बढेको सूचनापछि सुरक्षा सतर्कता अपनाउँदै प्रहरीले नारायणगढबाट मुग्लिङ हुँदै पोखरा तथा काठमाडौँतर्फ जाने–आउने सबै प्रकारका सवारीसाधनमा अस्थायी रोक लगाएको थियो।

तर, जल तथा मौसम विज्ञान विभागअन्तर्गतको बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीको बहाव जोखिमपूर्ण नरहेको र अवस्था सामान्य बन्दै गएको जानकारी गराएपछि रोकिएका सवारीसाधनलाई पुनः गन्तव्यतर्फ पठाइएको चितवन प्रहरीले जनाएको छ।

सडक खुलेसँगै बिहानदेखि रोकिएका सयौँ सवारीसाधन तथा यात्रुहरू गन्तव्यतर्फ लागेका छन्। यसअघि चीन–नेपाल सीमाक्षेत्रमा आएको भीषण हिमपहिरो र बाढीका कारण भोटेकोशी तथा त्रिशूली नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको थियो। उक्त विपद्का कारण त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजना, सडक तथा सञ्चार पूर्वाधारमा समेत क्षति पुगेको थियो।

पुरानो जोखिम कायमै रहेकाले बाढीको सामान्य सूचना आए पनि सुरक्षा निकायले सम्भावित जोखिम न्यूनीकरणका लागि तत्काल सडक अवरुद्ध गरी सतर्कता अपनाउँदै आएको छ।