रसुवा । बाढीका कारण त्रिशूली–३ ए जलविद्युत् आयोजनाको सुरुङभित्र फसेका श्रमिकको उद्धार प्रयासमा महत्वपूर्ण प्रगति भएको छ।

उद्धारमा खटिएको टोली सुरुङको क्राउन (माथिल्लो भाग) सम्म पुग्न सफल भएको छ। सुरुङभित्र रहेका श्रमिकसम्म हावा पुर्‍याउने उद्देश्यले सानो प्वालबाट हावा पठाउनसमेत सुरु गरिएको बताइएको छ। सुरुङभित्र फसेकाहरूको अवस्था यकिन गर्न तथा सुरक्षित रूपमा बाहिर निकाल्न उद्धार टोलीले प्राविधिक उपकरणसहित काम गरिरहेको छ। जोखिमपूर्ण अवस्थाका कारण उद्धार कार्यलाई अत्यन्त सावधानीपूर्वक अघि बढाइएको छ।

सानो प्वालबाट हावा पठाउन थालिएसँगै सुरुङभित्र रहेका श्रमिकको जीवनरक्षा र उद्धारको सम्भावना थप बलियो बनेको उद्धारमा संलग्न अधिकारीहरूले बताएका छन्।

उद्धार टोलीले अब सुरुङभित्रको अवस्थाको थप मूल्यांकन गर्दै श्रमिकसम्म सुरक्षित पहुँच बनाउने प्रयास गरिरहेको छ। घटनास्थलमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा प्राविधिक टोलीहरू परिचालित छन्।