काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओलीले गैरआवासीय नेपाली संघ (एनआरएनए) जस्तो विश्वव्यापी संस्थालाई व्यक्तिगत स्वार्थका लागि विभाजन गर्न नहुने बताएका छन्।
मंगलबार काठमाडौंमा आयोजित एनआरएनए ग्लोबल कन्क्लेभ २०२५ मा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एनआरएनए कुनै राजनीतिक संगठन नभएको स्पष्ट पारे।
“विदेश हाम्रो राजनीति गर्ने स्थान होइन,” प्रधानमन्त्री ओलीले भने, “एनआरएनए राजनीतिक दल होइन, त्यसैले यस संस्थालाई ‘कहाँ भोट हाल्छ’ भन्ने आधारमा हेर्नु अनुचित हुन्छ। यसको उद्देश्य नेपाली डायस्पोराको हकहित संरक्षण गर्नु र नेपालका लागि योगदान पुर्याउनु हो।”
उनले एनआरएनएमा एकता, मेलमिलाप र समन्वय आवश्यक रहेको उल्लेख गरे। “यो संस्था विवादास्पद बनाउने होइन, बलियो एकता र सहकार्यका साथ अघि बढ्ने संस्था हो,” उनले भने, “म सधैं यस्तो प्रयासमा साथ दिनेछु, जसले संस्थाको हित र एकता सुनिश्चित गर्छ।”
ओलीले संस्थाको स्थापना उद्देश्य अझै पूर्णरूपमा कार्यान्वयन नभएको भन्दै, ती उद्देश्यलाई हासिल गर्न संस्था विवादभन्दा माथि उठ्नुपर्नेमा जोड दिए।