फिल्म ‘पिताम्बर २’ निर्माणको घोषणा गरिएको छ । आज आयोजना भएको फिल्म ‘पिताम्बर’को ५१ औं दिन सेलिव्रेशन कार्यक्रममा यसको दोस्रो भागको निर्माण घोषणा गरिएको हो ।
चैत्रको २९ गतेबाट रिलिजमा आएको फिल्म ‘पिताम्बर’ले काठमाडौंको रञ्जना सिनेप्लेक्स र बीग मुभिजमा ५१ दिन मनाएको हो । उक्त अवसरमा फिल्मसँग जोडिएका कलाकार र प्राविधिकहरूलाई सम्मान पत्र प्रदान गरियो । यस्तै, रंग पत्रकारहरूलाई पनि सम्मान पत्र प्रदान गरिएको थियो ।
कार्यक्रममा फिल्मकी निर्देशक कृषा चौलागाईं, निर्माता विशाल चौलागाईं, डीओपी तथा सह–निर्माता पुरुषोत्तम प्रधान, कलाकारहरू सौगात मल्ल, अनुप विक्रम शाही, प्रमोद अग्र हरि लगायतको उपस्थिति थियो ।
कार्यक्रममा बोल्दै निर्देशक चौलागाईंले सबैको साथ र सहयोगले आज यो संभव भएको बताइन् । उनले ‘पिताम्बर’ ‘सोचदेखि संभव’सम्मको यात्रा रहेको सुनाइन् । यो फिल्ममा भएका कमीकमजोरीलाई सच्याएर अर्को फिल्ममा अझै बुलन्द काम गर्ने प्रतिवद्धता कृषाले व्यक्त गरिन् ।
यो फिल्ममा प्रदीप खड्का, दयाहाङ राई, सुरक्षा पन्त, सुपुष्पा भट्ट, दिव्या रायमाझी लगायतका कलाकारहरूको पनि अभिनय छ ।