चलचित्र ‘द ब्ल्यू लाइट’को पोस्टर सार्वजनिक भएको छ । निर्माणपक्षले आइतबार चलचित्रको पोस्टर सार्वजनिक गरेको हो ।

पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल छिन् । उनलाई बारमा देखाइएको छ । औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा छिन् ।
निलो लाइटको संयोजन रहेको पोस्टरमा उनको गेटअप, अनुहारमा देखिएको तनाव, अगाडी रक्सीको कप र औंलाको चुरोटले उनी बारगर्ल रहेको संकेत गर्छ ।

कसैले आश्वासन दिएर धोका दिएपछिको तनाव हो कि भन्ने अनुमान लगाउन सकिन्छ । तर यसबारे निर्माणपक्षले प्रष्ट पारेको छैन । बेनिशाका रोल र चलचित्रको कथाबारे विस्तारै खुलाउँदै जाने निर्माणपक्षले जनाएको छ ।
पोस्टरले कतै यो सिनेमाले काठमाडौंको रंगीन नाइटलाइफभित्रको तनाव, त्यसभित्रको डार्क साइड र मनोविज्ञानको कथा त भन्दै छैन भन्ने संकेत गरेको छ । तर, प्रष्ट छैन ।
गत बिहीबारबाट यो सिनेमाको छायांकन सुुरु भइसकेको छ ।  काठमाडौं उपत्यकाभित्रका विभिन्न स्थानमा खिचिने चलचित्रको छायाकंन तालिका २० दिनको छ ।

‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानको निर्देशन गरिरहेका छन् । चौहान अहिलेको प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक हुन् । उनको यो डेब्यु निर्देशन हो ।

चलचित्रको थिम पोस्टर यसअघि नै सार्वजनिक भइसकेको छ । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी छन् । पोस्टरमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको छ । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।

‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशासँगै अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, बेनिशा हमाल, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।

साइकोलोजिकल थ्रिलर जनरामा निर्माण हुने चलचित्रलाई स्काइफल पिक्चर्सको प्रस्तुत गर्न लागेको हो । ‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन्। कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन्  । चलचित्रको छायांकन नरेन्द्र मैनालीको हुनेछ ।

आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले बताएका छन् ।