भुवन केसीको निर्देशनमा तयार हुन लागेको चलचित्रको नाम ‘बाटुलो जुन’ राखिएको छ।  यो चलचित्रले ग्रामीण परिवेशको कथा प्रस्तुत गर्नेछ।  


यो चलचित्रको मुख्य भूमिकामा नायक अनमोल केसीले नै काम गर्नेछन्। होम प्रोडक्सनको चलचित्रमा काम गर्न लागेका अनमोल केसी आफ्नो भूमिकालाई लिएर उत्साहित छन् । चलचित्रमा अनमोलका साथमा उनका पिता भुवन केसी पनि देखिनेछन्। 


यो चलचित्रको छायांकन केही दिनमै सुरु हुनेछ । पहिलो चरणको छायांकन एक साता गरेपछि निर्माणपक्षले भदौमा बाँकी छायांकन गर्नेछ । भुवन केसीले यो चलचित्रको नाम चलचित्र विकास बोर्डमा दर्ता गरिसकेका छन् । 


यो चलचित्रमा नायक अनमोल केसी गाउँले युवकको भूमिकामा देखिदैछन् । उनको साथमा दुई नयाँ नायिका हुने पक्का भइसकेको छ । यी दुवै नायिकालाई अडिसनबाट छनोट गरिएको निर्माणपक्षले जनाएको छ । 


चलचित्रका लागि एसडी योगीले संगीत भरिसकेका छन् । एसडीले तयार पारेको गीतमा ‘बाटुलो जुन’ शब्द प्रयोग भएपछि निर्देशक केसीले सोही नाममा चलचित्र बनाउन लागेका हुन् ।