भुवन केसीको निर्देशनमा बन्न लागेको फिल्म ‘बाटुलो जुन’मा मोडल प्रिन्सी खतिवडाको इन्ट्री भएको छ । निर्माणपक्षले केही दिन अगाडि प्रिन्सीसँग कागजी संझौता गरिसकेको छ ।
यो फिल्मका लागि प्रिन्सी अहिले धमाधम वर्कसपमा व्यस्त छिन् । निर्माणपक्षले फिल्मका मुख्य नायक अनमोल केसी र प्रिन्सीको एकसाथको तस्वीर भने सार्वजनिक गरेको छैन ।
टिकटकमा निकै नै लोकप्रिय रहेकी प्रिन्सीले ६० भन्दा बढी म्युजिक भिडियोमा काम गरिसकेकी छिन् । यस्तै, उनले आधा दर्जन बढी हिन्दी म्युजिक भिडियोमा पनि काम गरिसकेकी छिन् ।
अडिसनमा सहभागी भएका एक दर्जन बढी युवतीबाट प्रिन्सीलाई यसको निर्माणपक्षले छनोट गरेको हो । फिल्ममा प्रिन्सीको भूमिका के हुने हो भन्ने केही पनि खुलाइएको छैन । प्रिन्सीको यो पहिलो नेपाली फिल्म हो ।
नायक अनमोल केसीसँग जोडी बाँधेर फिल्म क्षेत्रमा डेब्यू गर्न पाउँदा प्रिन्सी उत्साहित छिन् । फिल्मकी निर्मात्री जीया केसी हुन् । फिल्ममा अर्की एक नायिका पनि रहने बताइएको छ । तर, अर्की एक नायिकाको छनोट हुन बाँकी रहेको वुझिएको छ ।
‘बाटुलो जुन’को छायांकन असार र भदौमा हुनेछ । पहिलो चरणमा चित्लाङमा फिल्मको छायांकन हुनेछ । त्यसपछि ब्रेक लिएर भदौमा दोस्रो चरणको छायांकन गर्ने तयारी निर्देशक भुवन केसीको छ । अनमोल यसपटक फिल्ममा गाउँले युवकको भूमिकामा देखिदैछन् ।