बाँके जिल्लाको राप्तीसोनारी गाउँपालिका अगैयामा सम्पन्न ‘राप्तीसोनारी डान्सिङ स्टार २०२५’ को ग्रान्ड फिनाले भव्य रुपमा सम्पन्न भएको छ । डिटु कला केन्द्रको आयोजनामा र राप्तीसोनारी गाउँपालिका अगैयाको सहयोगमा गरिएको कार्यक्रम ‘कला र कलाकारको सम्मान, समृद्ध राष्ट्रको पहिचान’ भन्ने मूल नारासहित सम्पन्न गरिएको हो ।

फिनालेको प्रमुख अतिथि लुम्बिनी प्रदेश सभा सदस्य कृष्णा केसी नमुना रहनुभएको थियो भने अतिथि कलाकारको रूपमा गायक शिव जिएम, डान्सर भावना वली, सृजना शाही र स्वेता नेपालीको उपस्थिति रहनुभएको थियो । कार्यक्रम व्यवस्थापनमा भरत विक, भीम पुन र विश्व क्षेत्रीको सक्रिय भूमिका रहेको थियो ।

प्रतियोगितामा राप्तीसोनारी–८ शम्सेरगन्जका रोमनजन गहतराजले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गर्न सफल भएका छन् । त्यस्तै, दोस्रो स्थानमा सोही स्थानकी सोनिया थापा र तेस्रो स्थानमा राप्तीसोनारी–४ बैजापुरका दुर्गा विक विजयी भएका छन् । चौथो र पाँचौं स्थान क्रमशः निशा चौधरी र रितिका बुढाथोकीले प्राप्त गरे । प्रथम, दोश्रो र तृतियले क्रमश ५० हजार, ३० हजार र २० हजार नगद हात पार्न सफल भएका थिए । पुरस्कार लुम्बिनी प्रदेश सभासदस्य केसीले नगद सहित खादा सम्मान पत्रले पुरस्कार वितरण गर्नुभएको थियो ।

२०८२ साल जेठ ७ गतेदेखि सुरु भएको डान्सिङ आइडलमा सुरुवाती चरणमा १५० जना प्रतिस्पर्धी सहभागी भएका थिए । विभिन्न राउण्ड पार गर्दै अन्ततः २० जना प्रतिभाशाली प्रतियोगी फाइनल चरणमा पुगेका थिए ।

कार्यक्रम संयोजक तथा उद्घोषक दीपक वर्माले समग्र कार्यक्रम संचालन गर्नुभयो भने निर्णायकको भूमिकामा नवराज सुवेदी र अन्जु खड्का रहनुभएको थियो । नवराज सुवेदी डान्स निर्देशक एवं कोरियोग्राफर समेत हुनुहुन्छ । उहाँले प्रतिस्पर्धीहरू स्वस्तिका चौधरी, सुधा ओली, इश्वरी पुन मगर र श्रृतिका बुढाथोकीलाई निःशुल्क म्युजिक भिडियोमा प्रमुख भूमिकामा खेलाउने घोषणा गरेर कलाकारहरूलाई थप प्रेरित गर्नुभयो ।

स्थानीय प्रतिभालाई पहिचान दिलाउन र उत्साह बढाउन उद्देश्यले आयोजना गरिएको उक्त प्रतियोगिताले राप्तीसोनारी क्षेत्रमा सांगीतिक तथा नृत्यकलामा नयाँ उमंग थपेको छ । आयोजकले आगामी वर्ष कार्यक्रमलाई अझै व्यापक र समावेशी बनाउने प्रतिवद्धता समेत जनाएका छन् ।