राष्ट्रिय नृत्य प्रतियोगिता ‘छैटौँ एसइई डान्स च्याम्पियनसिप २०८२’ सम्पन्न भएको छ । शनिबार सम्पन्न भएको प्रतियोगिताकाे उपाधि शिवानी थापामगरले हात पारेकी छन् ।
काठमाडौँस्थित बज्रयोगिनी डान्स एन्ड म्युजिक एकेडेमी कपनले नाचघरमा आयोजना गरेको प्रतियोगितामा उत्कृष्ट भएकी शिवानीले एसइई डान्स च्याम्पियनसिपको ट्रफी र मेडलसँगै १ लाख रुपैयाँ नगदसँगै कक्षा ११ र १२ का लागि पूर्ण छात्रवृत्ति प्राप्त गरेकी हुन् ।
प्रतियोगितामा २० जना फाइनलिस्टले नृत्य प्रस्तुत गरेका थिए । देशभरका करिब २८० प्रतियोगी मध्येबाट फाइनलको लागि २० जना प्रतियोगी छनौट भएका थिए ।
जसमध्येबाट शिवानीले प्रथम भएकी हुन् । यस्तै सो प्रतियोगितामा दोस्रो हुँदै एग्रिया सिंहले ५० हजार रुपैयाँ सहित प्लस टुको छात्रवृत्ति र गोविन्द गुरुङ कुसुम तेस्रो हुँदै ३० हजार रुपैयाँ सहित प्लस टुको पूर्ण छात्रवृत्ति प्राप्त गरे ।
प्रतियोगितामा तेन्जिङ पाल्जोर लामाले सान्त्वना पुरस्कार सहित प्लस टुको पूर्ण छात्रवृत्ति पाइन् । पब्लिक च्वाइस अवार्ड सहित प्रशिका अधिकारीले पनि प्लस टुको पूर्ण छात्रवृत्तिसहित मेडल र ट्रफी हात पारिन् ।
प्रतियोगितामा ‘बेस्ट स्किल अवार्ड’ सहित गौतम खड्काले प्लस टुको पूर्ण छात्रवृत्ति पाए । एसइई डान्स च्याम्पियनसिप विजेता शिवानी थापामगरका कोरियोग्राफर अविनाश हमालले उत्कृष्ट कोरियोग्राफरबाट सम्मानित भए ।
च्याम्पियनसिपको निर्णायकमा कोरियोग्राफरहरु गम्भीर बिष्ट, प्रिन्स श्रेष्ठ, नारायण रिजाल, रोहिया महर्जन र शान्ति कठायत थिए । नम्बरको आधारमा प्रतियोगिताको विजेतादेखि उत्कृष्ट १० भित्र परेका सबै विद्यार्थीहरूले प्लस टु अध्ययनको लागि पूर्ण छात्रवृत्ति पाएका छन् ।