काजी लिम्बु र अञ्जन शर्माको संयुक्त निर्देशनमा तयार हुने फिल्म ‘जदौ’को निर्माण घोषणा गरिएको छ । काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै जातीय विभेद तथा भेदभावका कारण अन्तरजातीय प्रेम जोडी तथा दम्पतीले भोग्नु परेको समस्याको कथामा यो फिल्म बन्दैछ ।
आगामी भदौबाट छायांकनमा जान लागेको यो फिल्मको काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा फिल्मका मुख्य कलाकारहरू मुकुन भुसाल, नीति शाह, प्रभात पाल ठकुरी, विनोद न्यौपाने र सन्ध्या श्रेष्ठले फिल्ममा समावेश एक गीतको स्थायी वाचन गरे । यसले, फिल्मको कथा झल्काएको थियो ।
सिल्भर इन्टरटेन्मेन्ट र समिश्रण मुभिज एण्ड इन्टरटेन्मेन्टको संयुक्त निर्माणमा तयार हुन लागेको फिल्मको छायांकन भदौको पहिलो साताबाट हुने बताइएको छ । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले फिल्मको टाइटल अनावरण गरेका थिए ।
यो फिल्मले समाजका यथार्थ घटना, जनजीवनलाई मनोरञ्जनात्मक रुपले पर्दामा पस्कने तयारी निर्माणपक्षको छ। फिल्मले वर्षौदेखि भोग्दै र देख्दै आएका वास्तविक कुराको कथा भन्छ।
श्याम तामाङको छायांकन रहने यो फिल्मका एक्सन निर्देशक मिलन श्रेष्ठ हुन् । यो फिल्ममा ऋचा शर्मा, अनिल सुब्बा, सीपी पुडासैनी लगायतका कलाकारहरूको पनि अभिनय रहनेछ ।
फिल्ममा बाबुल गिरी र सरोज पोखरेलको संगीत रहनेछ । फिल्मको छायांकन दाङ र प्युठानमा हुने निर्माणपक्षले बताएको छ ।