काठमाडौं— जेनजी आन्दोलनको फाइदा उठाउँदै गत भदौ २४ गते तनहुँ कारागारबाट भागेका दुई जना कैदीबन्दीलाई जिल्ला प्रहरी कार्यालय लमजुङले पक्राउ गरेको छ । पक्राउ पर्नेमा नवलपरासी–४ सुस्ताका ३९ वर्षीय सन्तोष गुरुङ र बेंसीसहर–३ रानीकुवाका ४५ वर्षीय विनोद गुरुङ रहेका छन् । 

उनीहरुमा सन्तोष चोरी मुद्दामा र विनोद जवरजस्ती करणी मुद्दामा कारागार चलान भएका थिए । पक्राउ परेका दुबै कैदीबन्दीलाई दमौली कारागार तनहुँमा बुझाइएको प्रहरी नायब उपरीक्षक रेशम बोहोराले जानकारी दिए। 

लमजुङ कारागार भत्किएपछि यहाँ रहेका १०८ कैदीबन्दी कास्की र तनहुँ कारागार स्थान्तरण गरिएका थिए । गत भदौ २४ गते जेनजी आन्दोलनको फाइदा उठाउँदै कास्की र तनहुँ कारागारबाट उनीहरु भागेका थिए । फरार मध्ये हालसम्म ४५ जनालाई पक्राउ गरी सम्बन्धित कारागारमा बुझाइएको प्रहरी प्रमुख बोहोराको भनाइ छ ।

लमजुङ कारागारको पर्खाल भत्केपछि तनहुँमा ३० जना र कास्कीमा ७८ जना कैदीबन्दी स्थान्तरण गरिएको थियो । अझै २७ कैदीबन्दी फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरी प्रमुख बोहराले बताए। केही कैदीबन्दी भने यसअघिनै अदालती प्रक्रियाबाट छुटेका थिए ।