रामेछाप । पूर्वलाई राजधानीसँग जोड्ने छोटो मार्ग बिपी राजमार्गको वैकल्पिक मार्गको रूपमा रहेको पुष्पलाल मध्यपहाडी लोकमार्ग अन्तर्गत कोथवे–लुभु–डहु डोजरडाँडा ११ किलोमिटर सडक खण्ड काम सकिने बित्तिकै धसिएको छ । 

गएको असारमा निर्माण सम्पन्न भएको सो सडक ठाउँ ठाउँमा भासिएको सुनापति गाउँपालिका–४ का राज मैनालीले जानकारी दिए । सो सडकको करिब ५ किलोमिटरभन्दा बढी हिस्सा पैरो र भासले क्षति ग्रस्त भइसकेको मैनालीले जनकारी दिए । 

गुणस्तरहीन निर्माण र  कमजोर प्राविधिक स्टिमेटका कारण सो सडक बनाउने बित्तिकै भत्किएको मैनालीले बताए । यसबाट जनताको करको दुरुपयोग भएको भन्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको भए पनि सुनुवाइ नभएको मैनालीले गुनासो गरे । 

उनले स्थानीयलाई यस्तो निर्माण कार्यको खबरदारी गर्न र दिगो निर्माणको पहल गर्न पनि आह्वान गरे । गुणस्तरीय र दिगो निर्माण नहुँदा आवागमनमा नै जोखिम बढेको उनले बताए । 

यस विषयमा पुष्पलाल मध्यपहाडी लोकमार्ग योजना कार्यालय रामेछापका सूचना अधिकारी हर्कबहादुर प्रधानले माथिबाट पानी बगेको कारण सडक धसिएको र त्यसको मर्मत गरिने जानकारी दिए ।