काठमाडौं— काठमाडौंको सानो भर्‍याङबाट एक करोड रुपैयाँभन्दा बढी रकमसहित दुई जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा धादिङ नीलकण्ठ नगरपालिका–२ की २२ वर्षीया रोजिना सुनार र चिनियाँ नागरिक ३८ वर्षीय जियाओ याङ रहेका छन्। उनीहरूलाई प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीले उनीहरूको साथबाट एक करोड १० लाख ७० हजार रुपैयाँ नगद, विभिन्न सुनका गहना, पाँच थान मोबाइल फोन, एक थान एप्पल म्याकबुक र बागमती प्रदेश–०१–०३१ च ५२६२ नम्बरको बिवाईडी कार बरामद गरेको जनाएको छ।

जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी तथा प्रवक्ता पवनकुमार भट्टराईका अनुसार बरामद गहनामध्ये दुई थान बाला, चार थान झुम्का, तीन थान औँठी, एक नत्थी र एक सिरबन्दी रहेका छन्।

प्राथमिक अनुसन्धानका क्रममा रोजिना सुनार विगतमा बैंकिङ कसुरमा फरार प्रतिवादी रहेको खुल्न आएको प्रहरीले जनाएको छ। उनको विरुद्धमा प्रहरी वृत्त गौशालामा २०७९ साल असोज ४ र फागुन १० गते मुद्दा दर्ता भएको पाइएको छ।

दुवै जना विरुद्ध हुण्डी कारोबार (अवैध विदेशी मुद्रा कारोबार) सम्बन्धी कसुरमा ८ दिनको म्याद लिएर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।