मकवानपुर— मकवानपुरमा ग्यास बुलेटको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ भने चालककी श्रीमती गम्भीर घाइते भएकी छन्।
मकवानपुरको मनहरी गाउँपालिका–७ लच्का स्थित पूर्व–पश्चिम राजमार्गमा सोमबार बिहान चितवनबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश २–०५७ प ३२३० नम्बरको स्कुटरलाई सोही दिशाबाट आउँदै गरेको एन एल०१ एन ०२८० नम्बरको ग्यास बुलेटले ठक्कर दिँदा स्कुटर चालक पुरुषको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ।
मृत्यु हुनेमा सिन्धुपाल्चोकको चौतारा नगरपालिका–५ का ३० वर्षीय केदार श्रेष्ठ रहेका छन्। दुर्घटनामा गम्भीर घाइते भएका उनलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याइएकोमा अस्पताल पुग्ने बित्तिकै चिकित्सकले मृत घोषणा गरेका थिए।
स्कुटरमा श्रेष्ठसहित उनकी २८ वर्षीया श्रीमती सरस्वती श्रेष्ठ र २ वर्षीय छोरा प्रविन श्रेष्ठसमेत सवार थिए। दुर्घटनाका क्रममा सरस्वती गम्भीर घाइते भएकी छन् भने छोराको अवस्था सामान्य छ।
उनको हाल चितवन स्थित एलाईभ अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ। ग्यास बुलेट चालक भारतको बिहार बस्ने ५५ वर्षीय मोहमद मतिन इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा लिएको छ।






































