सिन्धुली— बिपी राजमार्ग अन्तर्गत सुनकोसी गाउँपालिका–६, चैनपुरमा मङ्गलबार बिहान कार दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

विराटनगरबाट काठमाडौंतर्फ जाँदै गरेको बा.७ च.७५५४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब ४२ फिट तल खसेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा मोरङ, विराटनगर–१७ का ६५ वर्षीय ओमबहादुर अर्जेलको मृत्यु भएको हो।

उनी स्वयं सो कारका चालकसमेत रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा उनकी श्रीमती ४९ वर्षीया सुनिता अर्जेल र छोरा ३१ वर्षीय निशान्त अर्जेल घाइते भएका छन्।

दुर्घटनापछि स्थानीयवासी र प्रहरीको सहयोगमा तीनै जनालाई उद्धार गरी आत्मीय सामुदायिक अस्पताल, खाल्टे लगिएको थियो। चिकित्सकले चालक ओमबहादुरलाई मृत घोषणा गरेका थिए।

घाइते सुनिता र निशान्तलाई थप उपचारका लागि धुलिखेल अस्पताल रिफर गरिएको प्रहरी नायब उपरीक्षक सूर्यप्रकाश सुवेदीले जानकारी दिए।