काठमाडौं— संरक्षित वन्यजन्तुको अंगजस्तो देखिने भालुको पित्तसहित दुई जनालाई केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पक्राउ गरेको छ।

सीआईबीका अनुसार, अवैध रूपमा भालुको पित्त ओसारपसार र बिक्री गर्न खोजेको विशेष सूचनाका आधारमा कार्तिक ९ गते काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१, रुप्सेटारबाट उनीहरूलाई नियन्त्रणमा लिइएको हो।

पक्राउ पर्नेहरूमा कालिकोट खाँडाचक्र नगरपालिका–६ का २५ वर्षीय रमेशबहादुर शाही र २८ वर्षीय कृष्णबहादुर शाही रहेका छन्।

उनीहरूको साथबाट ५६८ ग्राम तौलका दुई थान भालुको पित्तजस्तो देखिने आखेटोपहार बरामद गरिएको सीआईबीले जनाएको छ।

पक्राउ परेका दुवैजनालाई बरामद सामग्रीसहित डिभिजन वन कार्यालय, हात्तीसारमा आवश्यक कारबाहीका लागि बुझाइएको प्रहरीले जनाएको छ।