चितवन— आउँदो पुसमा बाघ गणना गरिने भएको छ । पर्सा, चितवन, बाँके, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा बाघ गणना गर्न लागिएको हो ।
यस वर्ष राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले बाघ गणनाका लागि १८ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । तर यसका लागि एक करोड ५० लाख रुपैयाँभन्दा धेरै खर्च हुने गर्छ । हरेक चार–चार वर्षमा बाघको गणना गरिँदै आएको छ ।
विभागका वरिष्ठ इकोलोजिस्ट हरिभद्र आचार्यका अनुसार पुस, माघ र फागुन गरी तीन महिना लगाएर बाघ गणना गर्न लागिएको हो ।
एकसिङ्गे गैँडा गणना चैत महिनामा गर्ने तयारी छ । बितेको आर्थिक वर्षमै गर्ने भनिएको गैँडा गणना अन्तिम अवस्थामा दाताले सहयोग गर्न नसक्ने जनाएपछि रोकिएको थियो । चितवन राष्ट्रिय निकुञ्ज, पर्सा राष्ट्रिय निकुञ्ज, शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र कोशी टप्पु राष्ट्रिय निकुञ्जमा गैँडा गणना गरिनेछ ।
गैँडा गणनाका लागि पनि विभागले १८ लाख रुपैयाँ नै विनियोजन गरेको छ । गैँडा गणना गर्न दुई करोड रुपैयाँभन्दा धेरै खर्च लाग्ने गर्छ । बाँकी रकमका लागि दाताहरूसँग सहयोग मागिने भएको छ ।
यसअघि सन् २०२२ मा गरिएको गणनामा नेपालमा तीन सय ३५ वटा बाघ रहेको तथ्याङ्क सार्वजनिक भएको थियो । चितवनमा एक सय २८, बर्दिया निकुञ्जमा एक सय २५, बाँके निकुञ्जमा २५, पर्सामा ४१ र शुक्लाफाँटामा ३६ वटा बाघ भेटिएको थियो ।
चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा। गणेश पन्तका अनुसार बाघ गणना गर्दा बाघ बढी ओहोरदोहोर गर्ने ठाउँमा स्वचालित क्यामेराहरू राख्ने गरिन्छ । त्यो क्यामेराले बाघको फोटो खिच्ने गर्छ । बाघहरूको फोटो हेरेर तिनीहरूको शरीरमा भएका पाटाका आधारमा सङ्ख्या छुट्याइने उहाँले जानकारी दिनुभयो । हरेक बाघको पाटा फरक–फरक हुने गर्छ ।
गैँडा गणना हात्तीमाथि चढेर प्रत्यक्ष अवलोकन गरी गर्ने गरिएको छ । यस पटक फरक विधि प्रयोग गर्ने विषयमा विभागले छलफल गरेको छ । सन् २०२१ मा गरिएको गणनामा देशभरका राष्ट्रिय निकुञ्ज तथा संरक्षण क्षेत्रमा सात सय ५२ वटा गैँडा फेला परेका थिए ।






































