काठमाडौं— गत भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा प्रहरीमाथि आक्रमण र कार्यालय तोडफोडमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख, प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) दानबहादुर कार्कीका अनुसार, पक्राउ पर्नेहरूमा सिन्धुली गोलञ्जोर गाउँपालिका–१ का २२ वर्षीय अलिष श्रेष्ठ र रसुवा उत्तरगया गाउँपालिका–४ का २७ वर्षीय सौरभ तामाङ रहेका छन्। उनीहरू हाल क्रमशः काठमाडौंको सुकेधारा र मनोमैजुमा बसोबास गर्दै आएका थिए।

प्रहरीका अनुसार, उनीहरूले भदौ २४ गते प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी जवान उत्तम थापामाथि कुटपिट गरेका थिए। त्यस क्रममा आन्दोलनकारी समूहले प्रहरी कार्यालयमा ढुङ्गामुढा, आगजनी र तोडफोडसमेत गरेको पाइएको छ।

पक्राउ परेकालाई हाल प्रहरी वृत्त महाराजगञ्जमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सो आन्दोलनका क्रममा आन्दोलनकारीको आक्रमणबाट प्रहरी सहायक निरीक्षक मिलन राय र प्रहरी जवान उत्तम थापाको ज्यान गएको थियो।