काठमाडौं— काठमाडौंबाट धनगढीका लागि छुटेको यात्रुबाहक बस कपिलवस्तुमा दुर्घटना भएको छ । गएराति २ बजेतिर पैदलयात्रुले झुक्काउँदा कपिलबस्तु शिवराज नगरपालिका–१ बनकसबासमा बा.प्र. ०१–००६ ख ८५०६ नं.को बस दुर्घटना भएको हो ।

बस अनियन्त्रित भएर पल्टिँदा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुने पैदलयात्री हुन् ।

उनको पहिचान नखुलेको कपिलवस्तुका प्रहरी प्रमुख सन्तोष आचार्यले जानकारी दिए ।

यस्तै, बसमा सवार १७ जना यात्रुमध्ये ५ जना घाइते भएका छन् ।

उनीहरूको संजिवनी सामुदायिक अस्पताल, चन्द्रौटामा उपचार भइरहेको छ । उनीहरूको अवस्था सामान्य छ ।