सर्लाही— सर्लाहीको बसबरिया गाउँपालिका–३, भवानीपुरमा जग्गा विवादका कारण एक परिवारमाथि कुटपिट भएको छ। घटनामा नौ जना घाइते भएका छन्।
स्थानीय बरण रायका छोरा राम दरेश रायको परिवारले बुधबार स्थानीय हृदय रायकी श्रीमती र छोरीमाथि आक्रमण गरेको पीडित पक्षले बताएको छ।
पीडित हृदय रायका अनुसार उनीहरूको परिवारमाथि यसअघि पनि पटक–पटक आक्रमण भए पनि स्थानीय प्रशासनले कुनै कारबाही नगरेको गुनासो छ। घटनापछि प्रहरी चौकी भवानीपुरमा उजुरी दिन जाँदा प्रहरीले उजुरी लिन अस्वीकार गरेको र पछि इलाका प्रहरी कार्यालय बरहथवामा गए पनि उजुरी दर्ता नभएको पीडितको भनाइ छ ।
घाइतेहरूको अहिले बरहथवा स्थित गोल्डेन हस्पिटलमा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार घटना जग्गा विवादसँग सम्बन्धित रहेको छ। कुटपिटमा दुवै पक्षका गरी नौ जना घाइते भएको र घटनामा संलग्न ५५ वर्षीय राम दरेश रायलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पीडित परिवारले घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कानुनी कारबाहीको माग गरेका छन्। घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।






































