काठमाडौं— काठमाडौंको तारकेश्वर नगरपालिका–५, गोलढुंगा फूलबारी गेट नजिक बुधबार राति भएको लुटपाट प्रकरणमा संलग्न दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा मकवानपुर भिमफेदी गाउँपालिका–५ का २६ वर्षीय सूर्यबहादुर घलान र सिन्धुली दुधौली नगरपालिका–१० का २३ वर्षीय मनोज चौधरी रहेका छन्।
बुधबार राति करिब ११ बजे बा ४२ प ४०६९ नम्बरको कालो पल्सर मोटरसाइकलमा आएका उनीहरूले धारिलो हतियार देखाएर एक युवकसँग रहेको ब्याग लुटेका थिए।
घटना सम्बन्धि जानकारी पाएपछि डयुटीमा खटिएको प्रहरी टोलीले मोटरसाइकलसहित दुवै जनालाई पक्राउ गरी लुटिएको ब्याग पनि बरामद गरेको जनाएको छ।
लुटिएको ब्यागमा केही नगद, ‘रोलेक्स’ लेखिएको घडीसहितका सामान फेला परेको प्रहरीले बताएको छ। साथै, पक्राउ परेकाहरूको साथबाट खुकुरी र ट्रामाडोल नामक लागुऔषध पनि बरामद गरिएको छ ।
प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको जनाएको छ।





































