झापा— झापाको मेचीनगर नगरपालिका–१४ स्थित हातेमालो सामुदायिक वनभित्र आज बिहान एक कार जलेको अवस्थामा फेला परेको छ।

जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्रबहादुर खड्काका अनुसार मेची राजमार्गअन्तर्गत चारआली–चन्द्रगढी खण्डको सडकबाट करिब २०० मिटर भित्रको जङ्गलमा उक्त कार पूर्णरूपमा जलेको अवस्थामा भेटिएको हो।

खड्काका भनाइमा, “कार जलिरहेको अवस्थामा फेला परेको हो। कसले र किन आगजनी गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ।” कारको नम्बर प्लेटसमेत जलेको बताइएको छ।

हातेमालो सामुदायिक वन समितिका अध्यक्ष चन्द्र सिग्देलका अनुसार स्थानीयले बिहान सबेरै कारलाई सडकबाट जङ्गलतर्फ लैजाँदै गरेको देखेका थिए। केही बेरमै कारमा आगो लागेको देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

आगजनीपछि कार चालक फरार रहेको र घटनास्थलमा प्रहरी तथा दमकल टोली पुगेर आगो नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

स्थानीयले चालकले नै कारमा आगो लगाएको हुन सक्ने आशङ्का गरेका छन्। हाल घटना सम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।