ईलाम— इलामको देउमाई नगरपालिका–१, कुखुरे नजिक मेची राजमार्गमा आज बिहान सवारी दुर्घटना हुँदा १० जना घाइते भएका छन्।
प्रहरीका अनुसार बिहान करिब १०ः३० बजे तेह्रथुमबाट झापा आउँदै गरेको मे १ ज ३१३७ नम्बरको बोलेरो र ईलामबाट पाँचथरतर्फ जाँदै गरेको प्र.१९०१९०१६प १३६७ नम्बरको २२० सीसी पल्सर मोटरसाइकल एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो।
दुर्घटनामा मोटरसाइकल चालकसहित बोलेरोमा सवार नौ जना गरी १० जना घाइते भएका छन्। घाइतेहरूलाई प्रहरी चौकी रक्सेको टोलीले उद्धार गरी तत्काल उपचारका लागि ईलाम जिल्ला अस्पताल पठाइएको इलाम प्रहरीका सूचना अधिकारी प्र.स.नि. रोजन नेम्बाङले जानकारी दिए।
दुर्घटनामा परेका घाइतेहरूको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। बोलेरो सडकबाट करिब १० मिटर तल खसेको र निकाल्ने प्रयास भइरहेको छ। बोलेरो चालक तेह्रथुमका २६ वर्षीय रबिन तामाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
मोटरसाइकलका कागजात चालकसँग नभएको पनि प्रहरीले जनाएको छ। दुर्घटनाले बाटो अवरुद्ध भने नगरेको बताइएको छ।
प्रहरीका अनुसार दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको छ।






































