काठमाडौं— पछिल्लो तीन महिनाको अवधिमा नेपाल प्रहरीका करिब साढे चार सय प्रहरी कर्मचारीले सेवाबाट राजीनामा दिएका छन्। प्रहरीका अनुसार राजीनामा दिनेहरूमध्ये कोहीले २० वर्ष सेवा अवधि पूरा गरेकाले स्वेच्छिक अवकाश लिएका छन् भने केहीले ५ वर्षमै व्यक्तिगत कारण देखाएर जागिर छाडेका हुन्।
हालै मात्र एसएसपी प्रकाश रानाभाटले पनि ‘व्यक्तिगत कारण’ देखाउँदै राजीनामा दिएका थिए। उनको राजीनामा स्वीकृत प्रक्रियामा रहेको प्रहरी स्रोतले जनाएको छ।
नेपाल प्रहरीका प्रवक्ता डीआईजी विनोद घिमिरेका अनुसार राजीनामा दिनेहरूमा जवानदेखि वरिष्ठ नायब निरीक्षक (स.नि.) तहसम्मका कर्मचारी बढी छन्। “तल्लो तहका प्रहरीहरूबाट घरायसी र व्यक्तिगत कारण देखाएर दिनहुँजसो राजीनामा आउने क्रम बढेको छ,” घिमिरेले बताए।
प्रहरी अभिलेखअनुसार साउनदेखि हालसम्म ९० जनाले उपदान सुविधा लिएर र साढे तीन सयले २० वर्ष सेवा पूरा गरी पेन्सन सुविधासहित प्रहरी सेवा छाडेका छन्।
सुरक्षा अधिकारीहरूका अनुसार भदौ २३ र २४ गतेको जेन्जी आन्दोलनपछि राजीनामाको दर तीव्र भएको छ। सो आन्दोलनका क्रममा प्रहरीको गोलीबाट २२ जना युवाको मृत्यु भएको थियो । त्यसपछि देशभर हिंसात्मक प्रदर्शन फैलिएर सुरक्षा निकायका कार्यालय र ब्यारेकहरू आक्रमणमा परेका थिए।
त्यस क्रममा प्रदर्शनकारीको आक्रमणबाट ३ प्रहरीको ज्यान गएको थियो भने १२ सयभन्दा बढी हतियार लुटिएका र करिब १ लाख राउन्ड गोली अभिलेखबाट हराएको विवरण भेटिएको छ।
काठमाडौंको बानेश्वर वृत्त तिनकुनेमा कार्यरत प्रहरीहरूलाई प्रदर्शनकारीले पोसाक फुकाल्दै दुर्व्यवहार गरेको र केहीले ज्यान जोगाउन बागमती नदीमा हाम फालेको घटनासमेत प्रहरी स्रोतले पुष्टि गरेको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        