सुर्खेत— सुर्खेतको भेरीगंगा नगरपालिका–१२, मसिनाटोलमा छोराले फरुवाले प्रहार गर्दा आमाको मृत्यु भएको छ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार ३० वर्षीय कविराम बस्नेतले घरायसी विवादका क्रममा आमालाई फरुवाले प्रहार गरेका हुन्। सुतिरहेको अवस्थामा प्रहार भएपछि ५० वर्षीया धनिकला बस्नेत गम्भीर घाइते भएकी थिइन्।
उनीलाई उपचारका लागि प्रदेश अस्पताल पुर्याइएको भए पनि बिहान करिब ८ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ।
घटनापछि फरार भएका कविरामलाई इलाका प्रहरी कार्यालय छिन्चुबाट खटिएको टोलीले छिन्चु बजार क्षेत्रमा पक्राउ गरेको छ। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।
 
                     
                                        
                                                                                                 
        








 
        





























 
        