काठमाडौं— जेन–जी आन्दोलनका क्रममा सुरक्षाकर्मीबाट लुटिएको हतियार प्रहरीले बरामद गरेको छ। प्रहरीले काठमाडौं महानगरपालिका–७ लाहुरे टोलबाट एक थान ग्यास गन फेला पारेको हो।

उक्त हतियार काभ्रेपलाञ्चोकको महाभारत गाउँपालिका–२ का वाङ्सु लामाले लिएर फरार भएको अनुसन्धानमा खुलेको छ। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार लामाको डेराबाट पेस्तोलमा प्रयोग हुने तीन थान गोली समेत बरामद गरिएको छ।

प्रहरीले लामालाई पक्राउ गरी अनुसन्धान गर्दा उनी जेन–जी आन्दोलनका बेला फरार भएका कैदी रहेको पुष्टि भएको हो।

लामामाथि यसअघि ज्यान मार्ने उद्योग मुद्दा दर्ता भई काठमाडौं जिल्ला अदालतको आदेशमा सुन्धारा कारागारमा पुर्पक्षका लागि थुनामा राखिएको थियो। तर, गत भदौ २४ गते उनी कारागारबाट फरार भएका थिए। सोही समयमा उनले प्रहरीको हतियार लिएर भागेको खुलासा भएको प्रहरीले जनाएको छ।