विराटनगर— अदालतमा जागिर खुल्यो भन्दै अनलाइनमार्फत ठगी गर्दै आएकी आमा–छोरी विराटनगरबाट पक्राउ परेका छन्। उनीहरूले जिल्ला अदालत मोरङको नक्कली फेसबुक पेज बनाएर विभिन्न पदमा भर्ना खुलेको झूटो सूचना सार्वजनिक गर्दै दर्ता शुल्कका नाममा रकम असुलेका थिए।

पक्राउ पर्नेहरूमा सिरहाको लहान घर भई हाल मोरङको विराटनगर महानगरपालिका–५ मा बसोबास गर्दै आएकी ५० वर्षीया पुनम देवी साह र उनकी २७ वर्षीया छोरी कोमलकुमारी साह रहेका छन्।

प्रहरीका अनुसार, उनीहरूले नक्कली फेसबुक पेजमार्फत ‘ई–सेवा’ प्रयोग गरी भर्ना शुल्कका नाममा रकम माग्ने तथा सामान किनमेलका क्रममा आधा रकम तिरेर बाँकी रकम सटही नहुने चेकद्वारा ठगी गर्ने कार्य गर्दै आएका थिए।

जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायब उपरीक्षक कोपिला चुडालका अनुसार, दुवैजनालाई नियन्त्रणमा लिएर ठगीमा संलग्न अन्य व्यक्तिहरूको खोजी कार्य भइरहेको छ।

प्रहरीले ठगीमा प्रयोग भएको मोबाइल नम्बर ९८२३८९८२९३ प्रयोग गरी रकम ठगीमा परेका अन्य पीडितहरूलाई निवेदनसहित जिल्ला प्रहरी कार्यालय मोरङमा सम्पर्क गर्न आग्रह गरेको छ।