बर्दिया— बर्दियामा हात्ती उपचार शिविर सञ्चालन गरिएको छ । बर्दिया राष्ट्रिय निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषमा रहेका घरपालुवा हात्तीको उपचारका लागि शिविरको आयोजना गरिएको हो ।
हरेक बर्ष गरिने शिविरमा बर्दिया राष्ट्रिय निकुञ्जका १३ ओटा र राष्ट्रिय प्रकृति संरक्षण कोषको एक गरि १४ हात्तीलाई उपचार गरिदै छ । उपचारका लागि अमेरिकाका केएसिफका १० जना विदेशी चिकित्सक, नेपाली चिकित्सक र प्राविधिक टोलीहरू खटिएका छन् ।
शिविरमा हात्तीको नङ् काट्ने, खोप लगाउने, रगतको नमुना संकलन गरि विभिन्न रोगहरू पत्ता लगाउने राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका भेटेनरी डाक्टर किरण रिजालले बताए ।
केएसिफको सहयोग र राष्ट्रिय प्रकृति संरक्षणकोषको प्राविधिक सहयोगमा शिविर सञ्चालन गरिएको हो । हात्तीको तौल धेरै हुने र खुट्टामा बढि लोड हुने भएकोले खुट्टाको बढि स्याहार गर्नु पर्ने भेटेनरी डाक्टर रिजालले बताएका छन् । दुई दिन सम्म चल्ने शिविरमा नङ् काट्ने, खोप लगाउने, रगत नमुना संकलन गर्ने कार्य भईरहेको छ । हात्तीको शरिरमा कुनै घाउ चोटपटक भएमा त्यसको उपचार समेत गरिने उनको भनाइ रहेको छ ।
त्यस्तै शिविर दुई दिन सम्म चल्ने बर्दिया राष्ट्रिय निकुञ्जका निमित्त प्रमुख सरोजमणी पौडेलले बताएका छन् । उनले घरपालुवा हात्तीको नङ छिटो बढ्ने हुनाले त्यसको स्याहार गर्नुपर्ने बताए । उनले् हरेक ६ –६ महिनामा हात्तीको नङ काट्ने गरिएको बताउँदै शिविरमा हात्तीको विशेष उपचार गरिने बताए ।
बर्दियामा विगत् ५ बर्ष देखि हरेक बर्ष शिविर सञ्चालन गर्दै आएको छ । उपचार पाईरहेको हुनाले अहिले हात्तीको खुट्टा र हात्तीको स्वास्थ्यमा सुधार भएको चिकित्सकहरूले बताएका छन् ।






































