वीरगन्ज— वीरगन्जको दशगज्जा क्षेत्रबाट बुधबार एक थान नलकटुवा पेस्तोल सहित सशस्त्र प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ ।
वीरगन्ज महानगरपालिका–१९ इनर्वामा पर्ने दशगज्जा क्षेत्रबाट हतियार सहित पक्राउ परेका युवामध्ये बाराको जितपुर–सिमरा उपमहानगरपालिका–७ का २८ वर्षीय संजय साह कलवार र वीरगन्ज महानगरपालिका–५ कुम्हाल टोलका २२ वर्षीय सुमित कुमार मण्डल रहेका छन् ।
सशस्त्र प्रहरी नेपाल प्रस्तावित सुरक्षा गुल्म र भारतीय सिमा सुरक्षा बल (एसएसबी) को संयुक्त गस्ती टोलीले नेपाल–भारत सीमाको पिलर नं. ३९०–२२ नजिकै नेपालतर्फ नसालु पदार्थ सेवन गरिरहेका कलवार र मण्डललाई हतियारसहित पक्राउ गरेको सुरक्षा गुल्मका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) पुरुषोत्तम भण्डारीले जानकारी दिए ।
डीएसपी भण्डारीका अनुसार नियमित गस्तीको क्रममा सिर्सिया खोलाको रीतबाट दक्षिणतर्फ जाँदै गर्दा झ्याँगमा बसिरहेका कलवार र मण्डललाई देखी जाँच गर्दा नजिकै रहेको प्लास्टिकको बोराबाट नलकटुवा पेस्तोल बरामद गरिएको हो । आवश्यक अनुसन्धानका लागि दुवै जनालाई नियन्त्रणमा लिइएको उनले बताए ।
पक्राउ परेका कलवारको स्वास्थ्य अवस्था बिग्रिएपछि उनलाई उपचारका लागि वीरगन्जको नारायणी अस्पतालमा भर्ना गरिएको छ भने मण्डल र बरामद गरिएको हतियारलाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्साको जिम्मा लगाइएको डीएसपी भण्डारीले जानकारी दिए ।
हतियारसहित पक्राउ परेका मण्डलले बरामद भएको हतियार आफूहरुको नभएको दाबी गरेका छन् ।
सिर्सिया खोलाको किनारमा रहेको दशगज्जा क्षेत्रको झ्याँगमा बसेर लागुपदार्थ सेवन गरिरहेका बेला प्रहरी आएर नजिकैको बोराबाट हतियार बरामद गरेको र त्यस हतियार आफूमाथि झूटो आरोप लगाइएको दाबी मण्डलले सञ्चारकर्मीहरूसँग गरे ।
बरामद गरिएको हतियार र पक्राउ परेका मण्डललाई जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको छ भने कलवारको उपचार नारायणी अस्पतालमा भइरहेको प्रहरीले जनाएको छ ।






































