रामेछाप— दोलखाको रोल्वालिङ क्षेत्रमा पर्ने यलुङ रि हिमाल आरोहणका क्रममा गत सोमबार परेको हिमपहिरोमा बेपत्ता भएका आरोहीहरूको खोजीकार्य स्थगित गरिएको छ । बेपत्ता सातजनामध्ये दुई जनाको मात्र शव फेला परेको छ भने बाँकी पाँच जनाको अवस्था अझै अज्ञात रहेको छ ।
खोज तथा उद्धार टोलीका कमाण्डर पासाङ किदर शेर्पाका अनुसार अब हिउँ निकै कडा भएको र त्यसलाई खन्न असम्भव देखिएकाले हाललाई खोजीकार्य स्थगित गर्ने निर्णय गरिएको हो । दुई नेपालीसहित पाँच जना हिमपहिरोमा पुरिएर हराइरहेका छन्, अब उनीहरु जिवित रहने सम्भावना छैन ।
खोजीको क्रममा भेटिएका दुई शवमध्ये एक फ्रान्सका मेनफेडी क्रिस्टिना एन्ड्रे र अर्को इटलीका पाउलो कोको रहेको पुष्टि भएको छ । हराएकाको यो सिजनमा खोजी सम्भव नभएको उद्धार टोलीले जनाएको छ ।
गत कात्तिक ११ गते दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रोल्वालिङ क्षेत्रमा पर्ने ५ हजार ६ सय ३० मिटर उचाइको यलुङ रि हिमाल आरोहणका लागि गाइड र आरोही गरी १५ जनाको समूह पुगेको थियो । कात्तिक १७ गते बिहान ४ बजे बेसक्याम्पबाट चुचुरोतर्फ प्रस्थान गरेका उनीहरू करिब ८ बजे शिखर नजिकै पुग्दा आकस्मिक हिमपहिरोमा परेका थिए ।
सोही दिनदेखि हराएका सात जनामध्ये मंगलबारबाट सुरु गरिएको खोज तथा उद्धार अभियानले आठ जनाको सकुशल उद्धार गरेको थियो । खोजीका क्रममा दुई विदेशीको शव फेला पारिएको भए पनि पाँच जनाको अवस्था अझै अज्ञात छ ।
नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसनबाट पासाङ किदर शेर्पा, रितन जाङ्बु शेर्पा, छिरिङ सोनाम लामा, पासाङ तेन्वा शेर्पा, ड्रिम डेस्टिनेसनका फुर्वा तेन्जी शेर्पा, र सिम्रिक एयरका दुई विदेशीसहित नौं सदस्यीय टोली खोजीका लागि खटिएको थियो ।
दोलखाका प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक ज्ञानकुमार महतोका अनुसार खोजी टोलीले कठिन मौसमका कारण अहिले खोज कार्य स्थगित हुने निर्णय गरेको छ । यो सिजनमा खोजी सम्भव नदेखिएकाले टोली फर्कन लागेको उनले जानकारी दिए ।
खोजीमा नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त टोली समेत सहभागी थियो । तर, भीषण हिमपात र उच्च जोखिमका कारण ती टोलीहरू पनि घटनास्थलसम्म पुग्न कठिनाइ भएको थियो । सुरक्षा टोली गाउँसम्म पुग्न सकेपनि त्यसभन्दा माथिल्लो क्षेत्रमा बाक्लो हिमपातका कारण टोली अघि बढ्न सकेन ।
गौरीशङ्कर संरक्षण क्षेत्रअन्तर्गत पर्ने यो हिमाल आरोहणका लागि पछिल्ला वर्षमा विदेशी आरोहीहरू आकर्षित हुँदै आएका छन् । तर, यलुङ रि क्षेत्र हाल भारी हिमपात र अस्थिर मौसमका कारण अति जोखिमपूर्ण मानिन्छ ।






































