सुनसरी— सुनसरीको झुम्का कारागारमा एक कैदीको मृत्यु भएको छ। आइतबार बिहान करिब ५ः३० बजे कारागारको ‘बी’ बन्दीगृहमा रहेका ५३ वर्षीय सुधना सरदार अचेत अवस्थामा फेला परेका थिए।
कारागार प्रशासनले सरदारलाई तत्काल उपचारका लागि जिल्ला अस्पताल इनरुवामा पुर्याए पनि बिहान ६ः१५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता प्रहरी निरीक्षक योगराज खतिवडाले जानकारी दिए।
प्रारम्भिक जानकारीअनुसार सरदार दीर्घकालीन मधुमेह (डाइबिटिज) का बिरामी थिए र नियमित रूपमा औषधि सेवन गर्दै आएका थिए।
सरदारलाई जिल्ला अदालतले २०८० असोज २ गते मानव बेचबिखन मुद्दामा दोषी ठहर गर्दै १० वर्ष कैद सजाय तोकेको थियो। उनी सो सजाय भुक्तानका क्रममा झुम्का कारागारमा रहेका थिए, प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले बताए।






































