सर्लाही । सर्लाहीमा ५२ किलो गाँजासहित एक जना पक्राउ परेका छन् । शुक्रबार बिहान प्रहरीले ५२ किलो गाँजासहित नारायणखोला निवासी २५ वर्षीय गंगा बहादुर वाइवालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार वाइवा बा १२ च ४७१० नम्बरको पिकअप भ्यानमा गाँजा लोड गरी लालबन्दी बजारतर्फ ल्याउँदै थिए । प्राप्त विशेष सूचनाका आधारमा खटिएको टोलीले चेकजाँचका क्रममा लालबन्दी नगरपालिका – ११, हिरापुरमा उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार गाँजा चालकको सिटमुनि तयार गरिएको विशेष ‘फल्स बटम’ भन्डारण भागमा लुकाइएको अवस्थामा फेला परेको थियो । पक्राउ परेका वाइवामाथि सर्लाही जिल्ला अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ ।






































