धनकुटा— धनकुटाको साँगुरीगढी गाउँपालिकामा रहेको लेउती खोलाको झोलुंगे पुलबाट लडेर एक वृद्ध महिलाको मृत्यु भएको छ।
आइतबार साँझ पुल पार गर्ने क्रममा अचानक चिप्लिएर तल खोलामा खस्दा साँगुरीगढी–६ की ७८ वर्षीया बिस माया लिम्बुको घटनास्थलमै मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।
घटना भएको खबर पाएपछि इलाका प्रहरी कार्यालय भेडेटारबाट प्रहरी टोली खटिएको थियो। साथै, थप अनुसन्धान तथा कानुनी प्रक्रिया अगाडि बढाउन जिल्ला प्रहरी कार्यालय धनकुटाबाट पनि टोली पुगेको धनकुटाका प्रहरी नायब उपरिक्षक राजन कार्कीले बताए।
प्रारम्भिक अनुसन्धान सकेर शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल धनकुटा पठाइएको र घटनाबारे थप अनुसन्धान जारी रहेको कार्कीले जानकारी दिए।






































