ईन्जिनियर हत्या प्रकरण : स्थायी जागिरको लोभमा योजनाबद्व हत्या, तीन जना पक्राउ

333 Shares
alt

सर्लाही –  जिल्ला पूर्वाधार विकास कार्यालय सर्लाहीमा कार्यरत ३६ वर्षीय सव–इन्जिनियर प्रमोद कुमार यादवको गोली हानी हत्या गरिएको घटनामा नियुक्तिको अवसर हात पार्ने उद्देश्यले योजनाबद्ध हत्या गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले वैकल्पिक उम्मेदवार गणेश कुमार महतोसहित तीन जनालाई पक्राउ गरी कर्तव्य ज्यान तथा हातहतियार सम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।
सिरहा सुखीपुर नगरपालिका– ९ बैशख घर भई हाल सर्लाही मलंगवा नगरपालिका –१० मा डेरा गरी बस्दै आएका यादवलाई गत फागुन ३ गते साँझ करिब ७ः५५ बजे फोन गरेर डेराबाट बाहिर बोलाइएको थियो ।
प्रहरीका अनुसार उनी बाहिर निस्किएको केहीबेरमै गोली प्रहार भएको थियो । छातीमा गोली लागेको अवस्थामा फेला परेका उनलाई प्रहरीले तत्काल उद्धार गरी प्रादेशिक अस्पताल मलंगवा पु¥याएको थियो।
उपचारकै क्रममा चिकित्सकले मृत घोषणा गरेका थिए। पोस्टमार्टम प्रतिवेदनमा छातीमा लागेको गोली नै मृत्युको कारण उल्लेख गरिएको छ ।
घटनापछि प्रहरीले सुक्ष्म अनुसन्धान, प्राविधिक विश्लेषण, इन्टेलिजेन्स परिचालन तथा मृतकका परिवार, नातागोता र सहकर्मीहरूसँग सोधपुछ गरेको थियो । अनुसन्धानका क्रममा महोत्तरी रामगोपालपुर नगरपालिका– ५ घर भई सर्लाही बरहथवा नगरपालिका–९ शान्तिटोलमा डेरा गरी बस्ने ३४ वर्षीय गणेश कुमार महतो मुख्य योजनाकार रहेको खुलेको छ ।
महतो सर्लाही कै रामनगर गाउँपालिकामा करारमा प्राविधिक सहायकका रूपमा कार्यरत थिए ।
महतो मधेश प्रदेश लोक सेवा आयोग जनकपुरधामबाट सहायक पाँचौँ तह सव–इन्जिनियर पदका एक मात्र वैकल्पिक उम्मेदवार रहेको र उक्त पदमा मुख्य सिफारिस भएका उम्मेदवार भने यादव रहेको खुलेको प्रहरीले जनाएको छ ।
नियुक्ति भएको व्यक्ति एक वर्षभित्र पद रिक्त भए मात्र वैकल्पिक उम्मेदवारलाई अवसर प्राप्त हुने कानुनी व्यवस्थाको गलत बुझाइका आधारमा महतोले हत्या योजना बनाएको प्रहरीको दाबी छ । यसअघि पनि पटक पटक वैकल्पिक उम्मेदवार बने पनि नियुक्ति नपाएको कारण उनी असन्तुष्ट रहेको अनुसन्धानमा उल्लेख छ ।
प्रहरीका अनुसार महतोले आफूलाई ‘राकेश यादव’ नामबाट चिनाउँदै मृतकसँग सम्पर्क बढाएका थिए । कामको सिलसिलामा फोन सम्पर्क गर्ने क्रममा उनले आफ्नो वास्तविक परिचय लुकाएका थिए ।
मृतकको व्हाट्सएपमा उनको नम्बर ‘राकेश यादव’ नाममै सेभ रहेको पाइएको छ । घटनाको दिन पनि उनले व्हाट्सएप कल गरेर यादवलाई डेराबाट बाहिर बोलाएका थिए। बाहिर आएलगत्तै साथमा ल्याएको पेस्तोलबाट छातीमा गोली प्रहार गरी उनी फरार भएका थिए ।
घटनामा बसबरीया गाउँपालिका – २ मानपुरका २२ बर्षिय चन्द्र किशोर सिंह कुशवाहा समेत संलग्न रहेको खुलेको छ । उनी गणेशका साला नाता पर्ने व्यक्ति हुन्। प्रहरीका अनुसार दुवै जना भारतीय नम्बर प्लेट बिआर ०१ एफ जेड १०८२ नम्बरको मोटरसाइकलमा चढी बरहथवाबाट मलंगवा पुगेका थिए ।
गोली प्रहारपछि सोही मोटरसाइकलमा भागी रौतहट गढीमाई नगरपालिका – ५ बलुवा स्थित बागमती नदीको बाँधछेउ मोटरसाइकल छाडेर फरार भएका थिए । उक्त मोटरसाइकल भोलिपल्ट बेवारिसे अवस्थामा फेला परेको थियो ।
अनुसन्धानमा गणेशका भाइ २२ बर्षिय विजय कुमार महतोको पनि संलग्नता खुलेको छ। प्रहरीका अनुसार गणेशले दशैंअघि नै विजयलाई ८० हजार रुपैयाँ दिएर हतियार खरिद गर्न लगाएका थिए । विजयले सोही रकममा पेस्तोल खरिद गरी दाजुलाई उपलब्ध गराएको प्रारम्भिक बयानमा उल्लेख छ । घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरिएको छ ।
घटनामा प्रयोग भएको भनिएको पेस्तोल उक्त घटना घटेको केहि दिनपछि मलंगवा नगरपालिका–४ ढाका बोर्डर टोलस्थित निर्माणाधीन हनुमान मन्दिरभित्र स्थानीय बालकले फेला पारेका थिए। नक्कली ठानेर पट्काउँदा पेस्तोल चलेर बालक घाइते भएका थिए । सोही हतियार नै घटनामा प्रयोग भएको पाइएको छ ।
प्रहरीले गणेशलाई फागुन १२ गते मलंगवा– ८ बाट, चन्द्र किशोरलाई फागुन १३ गते बलरा– ४ बाट र विजयलाई फागुन १४ गते महोत्तरी रामगोपालपुर– ५ बाट पक्राउ गरेको हो। गणेशको साथबाट एक थान भिभो वाई १९एस मोबाइल र घरबाट भिभो टि ३ ५जी तथा बेनको ई ६ मोबाइल बरामद गरिएको छ । ती मोबाइल तथा अन्य डिजिटल प्रमाणको प्राविधिक परीक्षण भइरहेको प्रहरीले जनाएको छ ।
तीनै जनाविरुद्ध मुलुकी अपराध संहिता, २०७४ अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।
संहिता अनुसार ज्यान मार्ने नियतले गरिएको कसुरमा जन्मकैदसम्म सजाय हुनसक्छ भने इजाजतपत्रबिना हातहतियार कारोबार गरेमा सात वर्षसम्म कैद र जरिवाना हुने व्यवस्था छ ।
प्रहरीले घटनालाई पूर्वयोजनाबद्ध आपराधिक षड्यन्त्रका रूपमा अनुसन्धान गरिरहेको जनाएको छ।


सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.