काठमाडौं— नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का युवा नेताहरूले संयोजक पुष्पकमल दाहाल प्रचण्डको राजीनामा मागेका छन् । बिहीबार पेरिसडाँडामा आयोजित नेकपाका जनवर्गीय संगठनहरूको बैठकमा अखिल क्रान्तिकारीका उपाध्यक्ष विराज थापाले प्रचण्डको राजीनामा मागेका हुन् । 

अहिलेको नेतृत्वले राजीनामा नदिए नेकपा अगाडि बढ्न नसक्ने उनको भनाइ थियो । बैठकमा सहभागी एक नेताका अनुसार थापाले अब प्रचण्डले देशको अभिभावक भएर बस्नुपर्ने बताएका हुन् । 

'सानो पार्टीको नेतृत्वमा बसेर ऊर्जा खर्च गर्नु हुँदैन । देशको अभिभावक बन्नुपर्छ । पार्टी राजनीतिबाट बिदा लिने समय आएको छ, बिदा लिनुपर्छु, बैठकमा थापाले भने । बैठकमा थापाले अहिलेको नेतृत्वले महाधिवेशनको मिति घोषणा गरेर तेस्रो पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने माग राखे ।