जनकपुर— नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई तत्काल रिहा गर्न माग गर्दै एमाले धनुषाले विरोध पत्र बुझाएको छ ।
आइतबार नेकपा एमाले धनुषाका पदाधिकारी सहित एमालेका नेता तथा कार्यकर्ताहरुले जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीलाई विरोध पत्र बुझाएको हो । विरोध पत्रमा कार्की आयोगको प्रतिवेदनको नाममा बाहाना बनाई नेपालको संविधानिक अभ्यासमा चोट पुग्ने हिसाबले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरेको उल्लेख रहेको छ । राजनीतिक प्रतिशोध, पूर्वाग्रह र शक्ति दुरुपयोगको आधारमा गरेको यस्तो क्रियाकलापले लोकतन्त्र, विधिको शासन र संविधानप्रतिको मौलिक हक अधिकारमा प्रश्न उठाएको पत्रमा उल्लेख रहेको छ ।
विरोध पत्रमा एमाले धनुषा कमिटिले पूर्वप्रधानमन्त्री ओलीलाई अविलम्ब रिहा गर्न माग गरेको छ । त्यस्तै, पत्रमा अराजक गृहमन्त्रीलाई खारेज गर्न पनि माग गरिएको छ । गौरी बहादुर कार्की नेतृत्वको प्रतिवेदनलाई पनि खारेज गर्नुपर्ने पत्रमा उल्लेख रहेको छ । त्यस्तै, जेनजी आन्दोलनको सत्य तथ्य छानबीन गर्न पनि पत्रमार्फत सरकार सरक्ष माग गरिएको छ । पत्रमा छानविन समिति गठन गर्नुका साथै भ्रष्टाचारीहरुलाई कारबाही गर्न माग गरिएको छ ।
विरोध पत्र बुझाउन जाँदा सयौँको संख्यामा नेता कार्यकर्ताहरुले मोटर साईकल र्याली निकालेका थिए । उनीहरुले, केपी ओलीलाई तत्काल रिहा गर, विधिको शासन लागु गर, गँजेडी सरकार मुर्दाबादको नारा लगाएका थिए । शनिबार विहान केपी ओली र रमेश लेखकलाई प्रहरीले पक्राउ गरेको छ ।




































