काठमाडौं— मनसुन नजिकिँदै जाँदा विपद् जोखिम न्यूनीकरणका लागि तयारी तीव्र पार्न गृहमन्त्री सुधन गुरुङले सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
आइतबार सिंहदरबारस्थित राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण को निरीक्षण गर्दै मन्त्री गुरुङले मनसुनअघि नै आवश्यक सबै पूर्वतयारी पूरा गर्न जोड दिएका हुन्।
निरीक्षणका क्रममा प्राधिकरणका अधिकारीहरूले हाल उपलब्ध स्रोत–साधन, तयारीको अवस्था र आगामी योजना बारे जानकारी गराएका थिए। मन्त्री गुरुङले समयमै तयारी गर्न सके धनजनको क्षति उल्लेखनीय रूपमा घटाउन सकिने उल्लेख गर्दै तत्काल कार्ययोजना कार्यान्वयनमा लैजान निर्देशन दिए।
नेपाल प्राकृतिक विपद्को उच्च जोखिममा रहेको देश भएकाले सरकार, निकाय र नागरिक सबैको सहकार्य आवश्यक रहेको उनको भनाइ थियो। साथै, दीर्घकालीन रूपमा जोखिम न्यूनीकरणका लागि शैक्षिक पाठ्यक्रममै विपद् व्यवस्थापन सम्बन्धी विषय समावेश गर्ने काम अघि बढिरहेको जानकारी पनि उनले दिए।
गृहमन्त्री गुरुङले आफू विगत एक दशकदेखि विपद् व्यवस्थापन क्षेत्रमा संलग्न रहेको उल्लेख गर्दै अब प्रभावकारी रूपमा काम गर्ने जिम्मेवारीमा आएको बताए। उनले आगामी दिनमा कुनै पनि नागरिकले प्राकृतिक विपद्का कारण ज्यान गुमाउन नपर्ने गरी तयारी सुदृढ बनाउनुपर्नेमा जोड दिएका छन्।




































