काठमाडौं— कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम आज चितवन राष्ट्रिय निकुञ्ज भित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुगेकी छन् ।
चितवन क्षेत्र नं. ३ अन्तर्गत पर्ने उक्त स्थलमा आयोजित विक्रम बाबा मेलामा सहभागी हुँदै मन्त्री गौतमले थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्पराको महत्त्वबारे उल्लेख गरेकी छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले भनेकी छन्, ‘आज चितवन क्षेत्र नं. ३ स्थित चितवन राष्ट्रिय निकुञ्जभित्र अवस्थित विक्रम बाबा पूजा स्थल पुग्ने सौभाग्य मिल्यो। विक्रम बाबा मेला, थारु समुदायसँग जोडिएको प्रकृति–पूजाको परम्परा, आज सबैको साझा धार्मिक उत्सव बनेको छ ।’
उनले विक्रम बाबा मेला समयसँगै सबै समुदायको साझा धार्मिक तथा सांस्कृतिक उत्सवका रूपमा विकसित भएको बताइन् । उक्त अवसरमा मन्त्री गौतमले सालको रुखको फेदमा पूजा अर्चना गरेकी थिइन् । उनले रुख, वन र नदीजस्ता प्राकृतिक स्रोतहरू मानव अस्तित्वका आधार रहेको उल्लेख गर्दै प्रकृति पूज्ने परम्पराले संरक्षणको भावना अभिवृद्धि गर्ने बताइन् ।
उनले थप लेखेकी छन्, ‘मैले पनि आज सालको रूखको फेदमा पूजा गरे । रुख, वन र नदी हाम्रा प्राकृतिक स्रोतसँगै हाम्रो अस्तित्वका आधारहरू पनि हुन्, र प्रकृति पूज्ने परम्पराले प्रकृति जगेर्नाको भाव प्रवद्र्धन गर्छ । विक्रम बाबाको आशीर्वादले लोककल्याण होस्, नेपाल र नेपालीको कल्याण होस् ।’ मन्त्री गौतमले विक्रम बाबाको आशीर्वादले समग्र जनताको कल्याण, देशको समृद्धि तथा नेपालीहरूको हित हुने विश्वास व्यक्त गरेकी छन् ।






































